Latest From our Blog

हाइड्रोपोनिक प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक

बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ भनिन्छ । पर्वतको कुश्मामा एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका लालबहादुर हरिजनले ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गरेका छन् ।

 

मोदी– ५ र कुश्मा– ३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको हो । युवापुस्ता लागि लोकप्रिय मानिएको सो प्रविधि जिल्लामा पहिलोपटक भित्रिएका हुन् । कृषिमा धेरै परिश्रम गर्न नचाहाने साथै अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँनयाँ माध्यम खोजिरहेका बेला कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ । यस्तै युवाको भीडमा हरिजनले कृषिमा सो आधुनिक प्रविधि भित्र्याएको हो ।

 

हरिजनले तीन मिटर लम्बाइ, तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्यानलको सहयोगमा यस्तो प्रविधिको खेती गरेका छन् । परीक्षणका रूपमा लगाइएको तरकारीले त्यही जमिनमा लगाएको भन्दा सात गुणा बढी उत्पादन दिएपछि उनी दंग परेको सुनाउछन् । “जमिनमा भन्दा फल धेरै छिटो र बढी उत्पादन भएको छ,” उनले भने ।

 

बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक हुने हरिजनको दाबी छ । परीक्षण सफल भएपछि हरिजनले लगत्तै करिब दुई रोपनी जमिनमा यस्तै प्रविधि अपनाउने सोच बनाएको बताए । थोरै जमिन हुने तर करेसाबारी नहुनेका लागि यो प्रविधिको तरकारी उत्पादन प्रभावकारी हुने कृषि प्राविधिक बताउँछन् ।

 

करेसाबारी नहुनेले छतमासमेत यो प्रविधी अपनाएर तरकारी उत्पादन गर्न सकिन्छ ।” करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ तीन–तीन वटा पिभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिँध चिरेर तरकारीको बिरुवा रोपिन्छ । सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्व मिश्रित पानी पाइपमार्फत बिरुवाको फेदसम्म पु¥याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ । दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने बनाइएको हुन्छ ।

 

यही चक्रिय प्रणालीका कारण पाइपभित्र लगाइएको तरकारी वृद्धि हुन्छ । सोलारले तातेको पानीबाट सिँचाइ गरिन्छ । बिरुवा छोटो समयमा वृद्धि हुन्छ । माटोमा भन्दा ३० देखि ४० प्रतिशत छोटो समयमा फल्ने हरिजनको दाबी छ । एउटा स्ट्यान्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने हुन्छ । रु १५ हजारदेखि रु २० हजारको लगानीमा तयार हुने यो प्रविधि एकपटक बनाइसकेपछि ३० वर्षसम्म काम लाग्ने हरिजनको भनाइ छ ।