Latest From our Blog

भैंसीकै हाकिम भैंसीकै नोकर भएर खर्कमै तीन पुस्ता

डोटी, ३० फागुन । पाँच वर्षे बालापनमा बुवाको औंँला समाएर भैंसी चराउन शिखर नगरपालिका १ तेलेलेक गएका गोरख मल्ल  अहिले ६४ वर्षको भए । त्यसबेलादेखि अहिलेसम्म उनी भैंसीखर्कमै रमाउने गरेकाछन् । उनी बिहानै उठ्छन्, ११ वटा भैंसीको स्याहारमा जुट्छन् । दिनभरि भैंँसीसँगै लेकभरिको जङ्गल चहारेर बेलुकी लामीतालमा रहेको खर्कमा फर्किन्छन्  । 

गोरखका बुवा बहादुरले पनि उक्त तेलेलेकमा भैंँसी चराउँदा चराउँदै जीवन त्यागे । उनका ३६ वर्षका एक्ला छोरा यामबहादुरले पनि खर्कमै मृत्युवरण गरे जसरी बुवा र छोराले खर्कमै जीवन त्यागे । त्यसैगरी खर्कमै सुखदुःख सहेर गोरख पनि जीवन गुजार्न चाहान्छन्  । तीन पुस्ताले खर्कमा बिताएको अनुभवपछि गोरखको जीवन जिउने आफ्नै सूत्र छ । “हाकिम हुनलाई लेखपढ गरिन, अरूको रवाफ सहन नोकरी गर्न सकिन,” मल्लले भने, “भैंँसीकै हाकिम र भैंसीकै नोकर भएर मेरा तीन पुस्ताले जीवन गुजारिसके, म पनि यसैमा रमाएको छु ।” 

करीब ७४ वर्षीय देवबहादुर ऐर पनि पाँच भैंँसी पालेर देउतालस्थित खर्कमै रमाएकाछन्  । बुढेसकाल भए पनि लेकमा पाइने शान्ति र स्वतन्त्रता अन्यत्र नपाइने उनको अनुभव छ । उनले आफ्नो पूरै जीवन खर्कमा बिताएको सुनाए । अठ्सठ्ठी वर्षीय शिखर नगरपालिका– ५ कै देवराज भट्ट बुढ्यौली उमेरमा पनि ३०-४० किलो भारी घाँस र सोतर बोकेर लेकमा मजाले हिँड्छन्  । भैंसीका सङ्गीतमय घाँडोका आवाज, पशुपक्षीका चिरबिर, सिरसिरे बतास र चिसो मौसम आफ्नो जीवनको अभिन्न अङ्गझैंँ बनेको उनीहरू बताउँछन् । आफ्नो पूरै जीवन भैंँसी खर्कमा बिताएका वृद्ध किसानहरू अहिले सो लेकमा थुप्रै छन्  । खर्कमा जिन्दगी बिताएका उनीहरू गाउँघरमा रमाउन सक्दैंनन्  । उनीहरू अधिकांश निरक्षर हुन् । सबैले छोराछोरीलाई पनि पढाउन सकेका छैनन् । गोरखले आफ्नी दुई छोरीलाई पनि लेकमै ल्याएर राख्नुपरेको नमीठो कथा सुनाए । 

सानै उमेरबाट आफूले अभिभावक गुमाउँदा लेकमै जीवन बिताउनुपरेको बताउने गोरखले सन्तानलाई पढाउन नपाउँदा भने खिन्नता महसुस भइरहने बताउँछन् । अहिले पनि केही खर्कमा बालबालिका र महिलासमेत भेटिन्छन् । उनीहरूले लेखपढ नगरी, शहरिया जीवनशैलीको अनुभूति नै नगरी जीवन व्यतीत गरिरहेको स्थानीयवासी लालबहादुर महराले बताए । फागुनदेखि भदौ महिनासम्म लेकमा भेटिने उनीहरू खर्कमा चिसो बढेपछि भने घरतिर अर्थात् औलतिर झर्छन्  । लामीताल, खकरेताल, देवताल, मुस्ताल, गदीभैंँसी, देउकापानी, पल्लेपानीलगायत ठाउँमा वर्षौं पहिलेबाट खर्क बनाएर बस्ने चलन छ । “तेलेलेकका रक्षक भनेकै यिनै किसान हुन्,” शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशी भन्छन्, “वर्षौंअघिबाट लेकका कुनाकन्दराहरूसँग परिचित भएका यिनीहरूले पुस्तौंपुस्ता पनि बिताएका छन्  ।”

शिखर नगरपालिकाले अहिले तिनै खर्कहरूलाई केही परिमार्जन र सुधार गरी घरबास बनाएर पर्यटन प्रवद्र्धनको प्रयास गरिरहेको छ । स्थानीय दही, दूध, कुखुरा, खसी, बोकाको मासु र पर्यावरणको सौन्दर्यमार्फत पर्यटकलाई भित्रयाउने लक्ष्यमा नगरपालिका रहेको नगरप्रमुख जोशीले बताए । लेकमा पनि किसानहरूको आफ्नै नियम र चलन छ । लेकमा हुने विषजन्य जडीबुटीका कारण बोका, बाख्राहरू भने कसैले नपाल्ने गरेको र भैँसी मात्रै पाल्ने गरेको भैँसी किसान बताउँछन् । तेलेलेकमा पालिएका भैंसी किन्न टाढा टाढाबाट मानिसहरू आउँछन्  । भैंँसीलाई दुहुने उमेरसम्म पालेर उनीहरू बेच्ने गछन्  । “आम्दानी भनेकै भँैंसी बेचेर हो,” शिखर नगरपालिका ५ का वडाध्यक्ष पदम बोहराले भने, “वर्षमा दुई वटा जति भैंसी पाले पनि लेकमा जीवनयापन गर्न पर्याप्त आम्दानी हुन्छ ।” रासस